राष्ट्रिय
केवाइसी अपडेटको बहानामा ५० लाख ठगी, तीनजना पकाउ

सञ्जय कार्की
रौतहट, २६ असोज । बैंक तथा डिजिटल वालेटको केवाइसी अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाताबाट करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित सीतामढी जिल्लाको बैगनिया घर भई गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल, सोही स्थानमा बस्ने २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार गौरमा पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार गत असोज २३ गते गौर नगरपालिका–३ को पोखरिया टोल र वडा नम्बर ५ को कोइरी टोलबाट उनीहरूलाई पक्राउ गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार यस प्रकारको अनलाइन ठगीमा परेका सर्वसाधारणबाट प्रहरीमा २२ वटा उजुरी परेका छन्। ती उजुरीका आधारमा ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको उहाँले जानकारी दिनुभयो।
यसरी गर्थे ठगी
प्रहरीका अनुसार आरोपितहरूले आफू बैंक वा ई–सेवाको कर्मचारी भएको भन्दै सर्वसाधारणलाई फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्थे। बैंक खाता वा डिजिटल वालेटको केवाइसी अपडेट गर्नुपर्ने भन्दै उनीहरूले सर्वसाधारणलाई विश्वासमा लिने गरेका थिए। त्यसपछि भिडियो कल गर्ने, मोबाइलको स्क्रिन शेयर गर्न लगाउने र गुगल फारम भर्न लगाएर बैंकिङ विवरण प्राप्त गर्ने गरेको प्रहरीको भनाइ छ। यसरी प्राप्त विवरण प्रयोग गरी पीडितको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्याएर रकम निकाल्ने र आफन्त वा अन्य व्यक्तिका बैंक खाता तथा क्युआर कोडमार्फत रकम स्थानान्तरण गर्ने गरेको आरोप छ। नगद, मोबाइल र बैंकिङ
कागजात बरामद
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले एक लाख ६२ हजार २१० नेपाली रुपैयाँ र तीन हजार २३६ भारतीय रुपैयाँ बरामद गरेको जनाएको छ। त्यस्तै, सात थान मोबाइल, ११ थान सिमकार्ड, विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरिएका ३० थान भौचर, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, एक थान पेनड्राइभ र दुई थान मेमोरी कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले ठगीको हिसाबकिताब, पीडितलाई फोन गर्दा प्रयोग गरिने संवाद र मोबाइलको स्क्रिन शेयर गराउने तरिकाबारे लेखिएका डायरी तथा कापीसमेत नियन्त्रणमा लिएको छ। प्रभु बैंकको १६ हजार रुपैयाँको एक थान चेक, ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको एक थान चेक तथा विभिन्न बैंकिङ विवरण उल्लेख भएका कागजात पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न मुख्य योजनाकार र अन्य व्यक्तिहरूको पहिचान भइसकेको छ। उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
सर्वसाधारणले के कुरामा ध्यान दिने?
बैंक वा डिजिटल वालेटको केवाइसी अपडेट गर्ने नाममा अपरिचित व्यक्तिले फोन गरेमा वा ह्वाट्सएपमार्फत सम्पर्क गरेमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
अपरिचित व्यक्तिको आग्रहमा मोबाइलको स्क्रिन शेयर नगर्नुहोस्।
बैंकको पासवर्ड, ओटीपी, पिन नम्बर र अन्य गोप्य विवरण कसैलाई नदिनुहोस्।
अपरिचित व्यक्तिले पठाएको लिंक वा गुगल फारममा बैंकिङ विवरण नभर्नुहोस्।
केवाइसी अपडेट गर्नुपरेमा सम्बन्धित बैंक वा डिजिटल वालेटको आधिकारिक कार्यालय वा आधिकारिक माध्यमबाट मात्र जानकारी लिनुहोस्।
खाताबाट शंकास्पद कारोबार भएको थाहा पाएमा तत्काल बैंकलाई खबर गरी प्रहरीमा उजुरी दिनुहोस्।
ध्यान दिनुहोस्: केवाइसी अपडेट गर्ने बहानामा गोप्य बैंकिङ विवरण माग्ने व्यक्ति ठग हुन सक्छ। आफ्नो विवरण सुरक्षित राख्नु नै अनलाइन ठगीबाट बच्ने पहिलो उपाय हो।

चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ
रौतहट २७ असोज । भारतको झरौखर प्रहरीले सैनिक रोडबाट चोरीको मोटरसाइकलसहित रौतहटका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको कटहरिया

नेपालमा एआई साक्षरता पाइलट कार्यक्रम सम्पन्न: प्रविधिमा नागरिक पहुँच र एजेन्सी बढाउन जोड
बिबेक चौधरी असोज २५, चन्द्रपुर रौतहट नेपालमा कृत्रिम बौद्धिकता (एआई) को जिम्मेवार, व्यावहारिक र समावेशी प्रयोग प्रवर्द्धन गर्ने

मल्हेनिया माई सामुदायिक वन उपयोक्ता समुहको साधारण सभा सम्पन्न
रौतहट, असोज २४ । रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित मल्हेनिया माई सामुदायिक वन उपभोक्ता समूहको ९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले







प्रतिकृया दिनुहोस