अनसनरत डाक्टर केसी पक्राउ

काठमाण्डौ २५ पौष । सर्बोच्च अदालतको आदेश संगै प्रहरीले प्राध्यापक डाक्टर गोविन्द केसीलाई अनसनस्थल त्रिवि शिक्षण अस्प्ताल महाराजगञ्जबाट पक्राउ गरेको छ । सर्वोच्च अदालतको अवहेलना मुद्दामा पक्राउ गर्ने आदेश जारी भएपछि केसीलाई प्रहरीले आफनो नियन्त्रणमा लिएको छ । उनलाई मङ्गलबार नौ बजे अदालतमा पेश गरिने जनाइएको छ । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । १४ औँ अनसन बसेका प्राध्यापक डाक्टर केसीको माग भने प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा रहेको थियो । सर्बोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अवहेलनाको मुद्दामा प्राध्यापक डाक्टर केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको थियो । सोही आदेश अनुसार प्रहरीले रातीनै केसी लाई पक्राउ गरेको हो । न्यायालयको जनआस्थामाथि गम्भीर खलल पुरयाएको भन्दै सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु अर्यालले सोमबारनै डाक्टर केसी बिरुद्ध सर्वोच्चमा अवहेलना मुद्दाको प्रतिवेदन दिएका थिए । डाक्टर केसी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुन ।