संकल्प साकोसको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

पौष १९, रौतहट । रौतहटको चन्द्रपुर–५ मा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्थाले बुधबार विहान चन्द्रनिगाहपुर बजारमा सरसफाई गरेको छ । संस्थाको १० औँ स्थापना दिवसको अवसर पारी ३ दिने सामाजिक कार्यक्रम अन्तर्गत बुधबार पहिलो दिन चन्द्रनिगाहपुर बजारदेखी देउराली चोकसम्म सरसफाई गरिएको हो । चन्द्रनिगाहपुर बजार क्षेत्रमा सरसफाई नहुँदा दुर्गन्धित हुदै गएको भन्दै सहकारीले सरसफाई गरेको जनाएको छ । सरसफाई कार्यक्रममा संस्थाका सेयर सदस्य, कर्मचारी तथा स्थानियहरुको उल्लेख्य उपस्थिती रहेको संस्थाका संचालक समितिका अध्यक्ष विभु पोखरेलले जानकारी दिनुभयो ।
 
स्थापना दिवस अन्तर्गत दोस्रो दिन भोली २० गते बिहिबार निबन्ध कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो । निबन्ध कार्यक्रममा सामुदायिक तथा संस्थागत निजी विधालयका माध्यमिक तहसम्मका विधार्थीहरुको सहभागीता रहने उहाँले बताउनुभयो । यसैगरी संस्थाको स्थापना दिवस अर्थात पुस २१ गते शुक्रबार स्थानिय कलाकारको सहभागितामा सहकारी शिक्षा सम्बन्धि जनचेतनामुलक सडक नाटकका साथै चन्द्रनिगाहपुरमा रहेका जनता सामुदायिक अस्पताल, चन्द्रपुर अस्पताल प्रा.लि. र चन्दनिगाहपुर सरकारी अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिने कार्यक्रम रहेको प्रचार प्रसार समितीका संयोजक सिताराम पौडेलले गुञ्जन एफएमलाई जानकारी दिनुभयो ।
 
सहकारी जगतमा रौतहटकै प्रतिष्ठित तथा सफल संकल्प बचत तथा ऋण सहकारी संस्थाले बेला बखत यस किसीमका सामाजिक कार्यक्रमहरु गदै आएको छ । आगामी दिनमा पनि यस किसिमका सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिईने संस्थाका प्रबन्धक गणेश पौडेलले जानकारी दिनुभयो । समाजमा स्थापित भई सामाजिक संसाधनकैै निर्भरतामा संचालन हुने यस्ता अन्य संस्थाहरुले पनि सामाजिक दायित्व अन्तर्गत यस प्रकारका सामाजिक क्रियाकलाप सञ्चालन गर्नेतर्फ ध्यान दिनु जरुरी देखिन्छ ।