सर्लाहीमा एम्बुलेन्सको चरम दुरुपयोग

सर्लाही १८ पौष । सर्लाही जिल्लामा एम्बुलेन्सको चरम दुरुपयोग हुने गरेको छ । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्समा बनभोज, पार्टी र आफन्त मात्र हैन मालबाहकको रुपमा सामान ओसार्न प्रयोग हुने गरेको पाइएको छ । शतप्रतिशत भन्सार राजश्व छुटमा ल्याईएका एम्बुलेन्सहरु पछिल्लो समयमा ब्यबसायिकरुपमा प्रयोग हुने गरेको खुलेको छ । यस्को निगरानी र नियन्त्रण हुन नसक्दा एम्बुलेन्समा बिरामी बोक्न छाडेर आफन्त, डाक्टर, अस्पतालका कर्मचारीहरु बोक्ने गरेको समेत पाईएको छ । अङ्ग्रजी नया बर्ष मनाउन सर्लाहीको मातृत्व सेबा नेपालको ज १ च १५७८ नम्बरको एम्बुलेन्सले रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरमा बनभोजको लागि मदिरा, मासु, र आफन्त लाई ओसारेको पाइएको छ । नेपाल सरकारको भन्सार छुटमा ल्याइएका एम्बुलेन्सको बिरामी बोक्दा भाडा समेत मनपरी रहेको छ तर बिरामी बोक्दा महगो भाडा असुल्ने गरेपनि एम्बुलेन्सको दुरुपयोग उतीकै बढेको छ । ट्राफिक प्रहरीले सबारी साधनको दुरुपयोग हुन नदिन चेकिङ्ग गर्ने गरेको भएतापनि एम्बुलेन्सको दुरुपयोग रोक्न ध्यान पुगेको देखिदैन । एम्बुलेन्सको दुरुपयोगले समयमै एम्बुलेन्स सेवा नपाएर बिरामीहरु उपचार अभाबमा पीडित हुने गरेको समेत पाइएको छ । आकस्मिक सेवाका दमकल, शव बाहन, ट्राफिक प्रहरी समेतको समन्वयमा सेवालाई सहज, सरल र प्रभावकारी बनाइनु पर्नेमा त्यसो नहुने गरेको गुनासो स्थानीयको रहेको छ । यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी निरिक्षक पाचु चौधरी संग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन । गैरसरकारी संस्था दर्ता गर्ने र यसैको नाममा भन्सार छुटमा एम्बुलेन्स खरिद बिक्री गर्ने चलन समेत पछिल्ला दिनमा बढेर गएको पाइएको छ । मातृत्व सेबा नेपाल गैरसरकारी संस्था हो । सहुलितय दरमा बिरामी बोक्ने प्रतिबद्धता सहित निकालिएको एम्बुलेन्सको चरम दुरुपयोग हुदा समेत नियन्त्रण गर्ने निकायको ध्यान पुग्न सकेको छैन । निर्देशिका अनुरुप एम्बुलेन्स सेवालाई सञ्चालन गराउने जिम्मा लिएको जिल्ला एम्बुलेन्स सेवा समितिको भूमिका गौन रहदा यस्को दुरुपयोग बढेको आरोप रहेको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि सदस्य सचिव, जिल्ला समन्वय समिति र जिल्ला रेडक्रस सोसाईटी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि सदस्य रहेको सो समितिले एम्बुलेन्स सेवा प्रदायकसँग यसबिषयमा अन्तरक्रिया समेत गरेको पाईदैन जस्का कारण पछिल्लो समयमा जिल्लामा सञ्चालित एम्बुलेन्सलाई सञ्चालकले तस्करीका रुपमा समेत प्रयोग गर्दै आएको पाइएको छ ।