एएफसी सोलिडारिटी कप फुटबलको उपाधि नेपाललाई

राजकुमार सापकोटा
कार्तिक ३० ।
मकाउलाई पराजित गर्दै एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेर नेपाली टिमले नयाँ इतिहास बनाएको छ । नेपाली राष्ट्रिय फुटबल टिमले एसियाली फुटबल महासंघ एएफसीको प्रतियोगितामा पहिलो पटक उपाधी जितेको हो । यो जितसँगे  एक वर्ष यता लगातार तेस्रो उपाधी उचाली नेपालले उपाधिको ह्याट्रिक समेत गरेको छ ।

मलेसियाको सारावाक रंगशालमा भएको फाइनल खेलमा नेपालले मकाउलाई १–० गोल अन्तरले हराएको हो । यो नेपाली फुटबल इतिहासमा महादेशीय आधिकारिक प्रतियोगिताको उपाधि हो । नेपालको जितमा सुजल श्रेष्ठले खेलको २९ औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । भरत खड्काको क्रस पासमा सुजलले हेडमार्फत गोल गरेका थिए ।

 पानी परेका कारण हिलाम्मे मैदानमा नेपालले मकाउमाथि लगातार दबाव दिएको थियो । नेपालले दर्जनौ गोलका अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा एक गोलमै सिमित बन्न पुगेको थियो । नेपालले माघमा बङ्गबन्धु कपको उपाधि जितेको थियो भने लगतै सागको फुटबलमा स्वर्ण जितेको नेपालको एकै क्यालेण्डर वर्षमा यो तेस्रो उपाधि हो ।

नेपाली टोली पछिल्ला आठ खेलमा अपराजित छ । सबै प्रतियोगितामा गरेर नेपालको यो अहिलेसम्मकै लामो अपराजित यात्रा हो । आजको खेल जितेर नेपालले मकाउमाथिको आफ्नो दबदबा पनि कायम राखेको छ । नेपाली फुटबल टिमलाई गुञ्जन एफएम परिवारको तर्फबाट शुभकामना ।।।